कागेश्वरी मनोहरा–५ मा बजार अनुगमन: बेकरीमा अखाद्य सामग्री प्रयोग, मासु पसलहरूलाई कडा निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८२, शुक्रबार ०८:१४

काठमाडौंकागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा रहेको दिप्सन बेकरीमा अखाद्य सामग्री प्रयोग गरी केक उत्पादन गरिएको पाइएको छ।

नगरपालिकाको बजार अनुगमन शाखा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सोमबार गरेको अनुगमनका क्रममा उक्त तथ्य फेला परेको हो।

अनुगमनका क्रममा बेकरी फोहोर तथा लापरबाहीपूर्ण ढंगले सञ्चालन भइरहेको पाइएको भन्दै सञ्चालकलाई तीन दिनभित्र सरसफाइ तथा स्वास्थ्य मापदण्ड पूरा गरी मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।

यसैगरी वडा नम्बर ५ मै सञ्चालनमा रहेको झापाली मिट सपमा बङ्गुरको मासु नछोपी खुला रूपमा राखिएको र अस्वस्थ वातावरणमा बिक्री भइरहेको पाइएको छ। सोही क्षेत्रमा रहेको ढकाल डेरी दर्ता नगरी सञ्चालन गरिएको र डेरीको नाममा किराना तथा सूर्तीजन्य पदार्थसमेत बिक्री भइरहेको भेटिएको छ।

डब्लु ओ सी मिट मार्टमा पनि फोहोर अवस्था तथा झिँगा भन्किरहेको वातावरणमा मासु बिक्री भइरहेको अनुगमन टोलीले जनाएको छ। ती सबै पसलका सञ्चालकलाई तोकिएका मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न कडा निर्देशन दिइएको छ।

अनुगमनका क्रममा वडा नम्बर ५ का अधिकांश खाद्य सामग्री बिक्री केन्द्रको अवस्था सामान्य भेटिए पनि केही पसलको नवीकरण बाँकी रहेको पाइएको छ। ती पसललाई सात दिनभित्र नवीकरण गर्न निर्देशन दिइएको छ।

यसैबीच, सार्वजनिक स्थानमा होटल सरह कुर्सी–टेबल राखी सडक छेउ तथा जोखिमयुक्त स्थानमा सञ्चालन गरिएका पसलहरू तत्काल हटाउन भोलिसम्मको समयसीमा दिइएको छ। दुर्घटनाको उच्च जोखिम हुने स्थानमा यसरी पसल सञ्चालन गर्नु मापदण्डविपरीत र स्थानीयवासीका लागि जोखिमपूर्ण हुने भन्दै पुनः त्यस्तो कार्य गरे नगर प्रहरी कार्यालयमार्फत कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply