काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले विभिन्न उपसमितिमार्फत तयारी तीव्र पारिएको जानकारी दिएका हुन्।
उनका अनुसार विश्वभरका हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने स्वदेशी तथा विदेशी भक्तजन, साधु–सन्त, महन्त, तीर्थयात्री तथा पर्यटकहरूको सेवा–सुविधाका लागि आवश्यक सुरक्षा, स्वयंसेवक परिचालन, चन्दन–प्रसाद वितरण, दर्शन मार्ग व्यवस्थापन, भजन–कीर्तन तथा अन्य प्रबन्ध मिलाइएको छ।
निर्देशक जोशीका अनुसार महाशिवरात्रीका दिन बिहान २ बजे नै मन्दिरका चारवटै ढोका खुला गरिनेछ। दर्शन सहज बनाउन मन्दिर प्रवेशका लागि चार स्थानबाट लाइन व्यवस्थापन गरिएको छ।
पर्वलाई सुरक्षित र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा कोषको सुरक्षा संयन्त्रबाट सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। साथै, पाशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण, विक्री–वितरण तथा ओसारपसार नगर्न/नगराउन कोषले सचेत गराएको छ।
प्रतिक्रिया