काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा बिहीबार सार्वजनिक गरेको छ।
मूल्यांकनअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा रह्यो भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ।
तुल्सीपुर उपमहानगरपालिकाले ६१.५३ अंक र घोराही उपमहानगरपालिकाले ६१.०८ अंक प्राप्त गरेका छन्। यस्तै धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको छ।
आयोगले स्थानीय तह मूल्यांकनका लागि १७ वटा सूचक प्रयोग गरेको जनाएको छ। ती सूचकमा असारभित्र बजेट सार्वजनिक वा पारित नगरेको अवस्था, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक रूपमा प्रदेश सञ्चित कोषमा नदिएको, आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा नबुझाएको, बजेट समीक्षा नगरेको, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गराउने महिला अनुपात, एसइई परीक्षा नतिजा र खोप लगाएका बालबालिकाको अनुपात लगायतका विषय समावेश छन्।
वर्तमान मूल्यांकनमा देशभर ८० अंक कटाउने स्थानीय तह भने चारवटा मात्र रहेको आयोगले जनाएको छ।
प्रतिक्रिया