काठमाडौँ । दैलेख जिल्लाको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको ज्यान गएको छ।
फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ। तीनै जनाबीच विवाद भएपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका दुवैजनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढा रहेको चामुण्डा जंगलबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया