काठमाडौँ । काठमाडौंमा ‘सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषणविरुद्ध लड्ने समसामयिक मुद्दाहरू’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलन नेपाल राष्ट्र बैंकअन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले आयोजना गरेको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल हाल वित्तीय कार्यदल (एफएटीएफ) को ‘ग्रे-लिस्ट’मा रहेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंकिङ, बीमा, पुँजीबजार, सहकारीलगायत सबै सरोकारवाला निकायबीच साझा प्रतिबद्धता र समन्वय आवश्यक रहेको बताए । उनले ग्रे-लिस्टलाई केवल चुनौतीका रूपमा नभई आन्तरिक संयन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।
बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले नियामकीय तथा सुपरिवेक्षकीय अभ्यासलाई थप मजबुत बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र मङ्गोलियाका विज्ञहरूको सहभागिता रहेको छ । पहिलो दिन नेपालमा एएमएल/सीएफटी (एण्टी मनी लाउन्डरिङ/कम्ब्याटिङ द फाइनान्सिङ अफ टेररिज्म) को वर्तमान अवस्था तथा व्यापारआधारित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल सम्पन्न भएको थियो ।
दोस्रो दिन नियामकीय उपकरणको प्रभावकारिता, ग्रे-लिस्टबाट बाहिरिने देशहरूको अनुभव तथा वित्तीय जानकारीको उपयोगसम्बन्धी विषयमा थप कार्यपत्र प्रस्तुति र छलफल हुने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल ग्रे-लिस्टमा परेको अवस्थालाई ध्यानमा राख्दै कानुनी, नीतिगत तथा कार्यान्वयन पक्षलाई सबल बनाउने उद्देश्यले आयोजना गरिएको सम्मेलन परिणाममुखी हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया