तयारी नभएका र खरिद प्रक्रिया नशुरू भएका आयोजना मात्र स्थगन : अर्थमन्त्री खनाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० माघ २०८२, बिहीबार ०६:४६

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तयारी नै नभएका तथा खरिद प्रक्रियामा प्रवेश नगरेका आयोजनाहरू मात्रै स्थगन गरिएको स्पष्ट पारेका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले विशेष परिस्थितिका कारण कम प्राथमिकतामा परेका तथा खुद्रा–टुक्रे आयोजनाको रकम अस्थायी रूपमा रोक्का गरिएको बताएका हुन्। उनले हाल प्राथमिकताअनुसार धेरै आयोजनाहरूको रकम फुकुवा भइसकेको र ती आयोजना पुनः सञ्चालनको क्रममा रहेको जानकारी दिए।

मन्त्री खनालले भने, “तयारी हुँदै नभएका, खरिद प्रक्रियामा जाँदै नगएका र तत्काल देशको अर्थतन्त्रमा योगदान नगर्ने खुद्रा–टुक्रे आयोजनाहरूलाई मात्र स्थगन गरिएको हो।”

उनका अनुसार आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनः सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापन तथा निर्वाचनका लागि बजेट छुट्याउनुपर्ने बाध्यताका कारण केही आयोजना रोक्का गर्नुपरेको हो।

मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्दै अनुत्पादक खर्च कटौती र मितव्ययिता अपनाउने नीति लिइएको उनले बताए। तयारी नभएका, खरिद प्रक्रिया अघि नबढेका र अर्थतन्त्रलाई प्रत्यक्ष लाभ नदिने आयोजनाहरू मात्रै स्थगित गरिएको उनको स्पष्टोक्ति थियो।

प्रतिक्रिया

Leave a Reply