रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो, तामाकोशीमा खसेको बसको खोजी जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८२, बुधबार ०६:५३

काठमाडौँ । रामेछापमा भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको हो ।

रामेछाप प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ । तीमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान रामेछापको मचानेटार भन्ने स्थानमा प्रदेश ०३-०१-९९५ख ९९७५ नम्बरको बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको हो । दुर्घटनापछि घटनास्थलमा सशस्त्र प्रहरी बलको रामेछाप गुल्म तथा विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको उद्धार टोली खटिएको थियो ।

उद्धार टोलीले बससँगै नदीमा डुबेकाहरूको खोजी कार्य जारी राखेको छ । प्रारम्भिक विवरणअनुसार बसमा चालक, सहचालक, बस व्यवसायीसहित ३ जना र बाटोबाट चढेका गरी करिब १३ यात्रु रहेको बताइए पनि दुर्घटनाको समयमा बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply