काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि तयार पारिएको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्रमा भाषिक विभेदको अन्त्य गरौँ, सयौँ फूलहरू फुल्न दिऔँ, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, स्थानीय तह र समुदायबाट समाजवादको अभ्यास, तथा नेपाली विशेषताको समाजवाद सामाजिक क्रान्तिको मूल बाटो जस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी, लोकतान्त्रिक शासन प्रणालीको आधार : जनताको घरदैलोसम्म गुणस्तरीय सेवा प्रवाह र आर्थिक विकास र समृद्धिका आधार : सुशासन, पारदर्शिता र मितव्ययितालाई प्रतिबद्धताको केन्द्रमा राखिएको उल्लेख छ ।
प्रतिबद्धता पत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माण, उद्यमशीलता प्रवर्द्धन, उद्यमी परिवारको विकास तथा गाउँ–सहर, घर–घरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत समेटिएको छ ।
पार्टीले जनमुखी आर्थिक सुधार र समावेशी समाजवादमार्फत मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने स्पष्ट प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया