काठमाडौँ । अंग्रेजी वर्षको दोस्रो महिना फेब्रुअरी प्रेमी–प्रेमिकाहरूका लागि विशेष मानिन्छ। मायामा रमाउनेहरूका लागि फेब्रुअरीको दोस्रो साता एक प्रकारको ‘प्रेम परीक्षा’ जस्तै हुने गर्दछ, जसमा हरेक प्रेमीले आफ्नी प्रेमिकाका लागि विभिन्न दिनमा फरक–फरक ‘पेपर’ दिनुपर्छ भन्ने रमाइलाे मान्यता छ।
कतिपय मानिस यस समयमा निकै उत्साहित हुन्छन् भने कतिपय अलि व्याकुल पनि देखिन्छन्। रमाइलो पक्ष के भने, यो परीक्षा सात दिनसम्म चल्छ र हरेक दिनको महत्व आ–आफ्नै हुन्छ। अझ रोचक कुरा त, यस ‘प्रेम परीक्षामा’ छल गरेको पाइएमा कडा सजाय पनि भोग्नुपर्छ भन्ने ठट्टा प्रचलित छ। त्यसैले प्रेमको यो साता कुन दिन के मनाइन्छ भन्ने जानकारी हुनु जरुरी मानिन्छ।
पहिलो दिन : रोज डे (७ फेब्रुअरी)
फेब्रुअरी ७ तारिखबाट सुरु हुने प्रेम सप्ताहको पहिलो दिन रोज डे हो। गुलाबको सुगन्ध र सौन्दर्यसँगै सुरु हुने यस दिन प्रेमी–प्रेमिकाले एक–अर्कालाई गुलाबको फूल दिएर आफ्नो प्रेम व्यक्त गर्छन्। मन परेको व्यक्तिसँग मनको कुरा भन्न नसकेकाहरूका लागि पनि यो दिन उपयुक्त मानिन्छ। विशेषगरी रातो गुलाब प्रेमको प्रतीक मानिन्छ।
दोस्रो दिन : प्रपोज डे (८ फेब्रुअरी)
फेब्रुअरी ८ मा प्रपोज डे मनाइन्छ। कसैप्रति गहिरो माया छ र त्यो व्यक्त गर्न चाहनुहुन्छ भने यो दिन उत्तम अवसर मानिन्छ। पहिल्यै रिलेशनशिपमा रहेका जोडीहरूका लागि भने यो दिन रोमान्टिक डेटमा जाने र सम्बन्धलाई अझ मजबुत बनाउने दिन हो।
तेस्रो दिन : चकलेट डे (९ फेब्रुअरी)
चकलेट पछिल्लो दुई सय वर्षदेखि मानिसको जीवनको महत्वपूर्ण हिस्सा बनेको छ। तनाव कम गर्न र माया व्यक्त गर्न चकलेट लोकप्रिय माध्यम मानिन्छ। फेब्रुअरी ९ मा मनाइने चकलेट डे मा प्रेमी–प्रेमिकाले एक–अर्कालाई चकलेट दिएर जीवनमा चकलेट जस्तै मिठास रहिरहोस् भन्ने कामना गर्छन्।
चौथो दिन : टेडी डे (१० फेब्रुअरी)
टेडी बियर जस्तै मानिसको मन पनि कोमल र संवेदनशील हुन्छ भन्ने मान्यतासँग जोडिएको छ टेडी डे। फेब्रुअरी १० मा प्रेमीहरूले प्रेमिकालाई टेडी बियर उपहार दिने चलन छ। विशेषगरी युवतीहरूलाई यो स्टफ्ड खेलौना निकै मन पर्ने भएकाले यो दिन निकै लोकप्रिय छ।
पाँचौँ दिन : प्रमिस डे (११ फेब्रुअरी)
प्रेम गर्न सजिलो भए पनि त्यसलाई जोगाएर राख्न गाह्रो हुन्छ। यही सन्देश बोकेको दिन हो प्रमिस डे। फेब्रुअरी ११ मा प्रेमी–प्रेमिकाले एक–अर्कासँग जीवनभर साथ दिने, विश्वास गर्ने र माया निभाउने प्रतिज्ञा गर्छन्।
छैटौँ दिन : हग डे (१२ फेब्रुअरी)
फेब्रुअरी १२ मा हग डे मनाइन्छ। अंकमालमार्फत प्रेम व्यक्त गर्ने यो दिन भावनात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ। एक–अर्कालाई अंकमाल गर्दा पार्टनरको माया र भावनाको गहिराइ महसुस गर्न सकिने विश्वास गरिन्छ।
सातौँ दिन : किस डे (१३ फेब्रुअरी)
फेब्रुअरी १३ मा किस डे मनाइन्छ। शब्द बिना नै प्रेम व्यक्त गर्न चाहनेहरूका लागि यो दिन विशेष मानिन्छ। एक प्रेमिल चुम्बनले गहिरो भावना व्यक्त गर्न सकिने विश्वास गरिन्छ।
अन्तिम दिन : भ्यालेन्टाइन डे (१४ फेब्रुअरी)
फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे प्रेम सप्ताहको अन्तिम र सबैभन्दा महत्वपूर्ण दिन हो। व्यस्त जीवनमा प्रेमको उत्सव मनाउने अवसरका रूपमा यो दिन लिइन्छ। उपहार, डेट, शुभकामना र साथसाथै बिताइने समयले यस दिनलाई अझ विशेष बनाउने गर्दछ।
प्रतिक्रिया