काठमाडौँ । आज विश्वभर विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष यो दिवस “दृष्टिबाट प्रभावतर्फः लैङ्गिक अन्तर घटाउँदै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको पुनःपरिभाषा” भन्ने मूल नाराका साथ मनाइँदैछ।
यस वर्षको विषयवस्तुले छलफलमा मात्र सीमित नरही ठोस समाधानहरूको कार्यान्वयनमा जोड दिएको छ। साथै, समावेशी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) प्रणाली निर्माणका लागि सफल अभ्यासहरू उजागर गर्नुपर्ने आवश्यकतालाई समेत औंल्याएको छ।
आजको दिन आधुनिक विश्वमा विज्ञान, प्रविधि र नवप्रवर्तनमा महिलाहरूको योगदानको कदर गर्ने तथा उनीहरूलाई विज्ञानको मूलधारमा ल्याउने विशेष अवसरका रूपमा लिइन्छ। तर नेपालमा मात्र होइन, विश्वका विकसित मुलुकहरूमा समेत विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको सहभागिता अझै कम रहेको देखिन्छ। उपलब्ध तथ्याङ्कअनुसार हाल महिलाको सहभागिता ३० प्रतिशतभन्दा कम छ।
पछिल्लो समय नेपालमा महिलाहरू विज्ञान र प्रविधि क्षेत्रमा अग्रसर हुँदै गएको देखिए पनि नेतृत्व तहमा भने उनीहरूको उपस्थिति कमजोर नै छ। व्यवस्थापन क्षेत्रमा महिलाहरूको उपस्थिति देखिए पनि विज्ञान–प्रविधिका प्राविधिक र अनुसन्धानमूलक पक्षमा पर्याप्त अग्रता लिन सकेका छैनन्।
समाजमा अझै पनि महिलाले सूचना प्रविधि तथा प्राविधिक कार्य गर्न सक्दैनन् भन्ने परम्परागत सोच व्याप्त छ। सरकारका योजनाबद्ध कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुनु तथा डिजिटल साक्षरताको कमीले पनि महिलालाई यस क्षेत्रबाट पछि पारिरहेको छ।
विशेषगरी दुर्गम क्षेत्रहरूमा सूचना प्रविधिको पहुँच सीमित हुँदा त्यहाँका महिलाको अवस्था झनै चुनौतीपूर्ण बनेको छ। यदि घर–परिवार र समाजबाट महिलालाई शिक्षामा अघि बढ्न सहयोग गर्न सकियो भने विज्ञान र प्रविधि क्षेत्रमा पनि उनीहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्न सक्छ।
महिलाहरूले विज्ञान र प्रविधिका क्षेत्रमा हस्तक्षेपकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्न आत्मविश्वास र अठोट आवश्यक छ। महिलाले पनि विज्ञान र प्रविधिमा महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने मान्यतालाई संस्थागत गर्दै, यी क्षेत्रमा उनीहरूको सहभागिता थप सुदृढ बनाउनु आजको आवश्यकता हो।
प्रतिक्रिया