बुढानिलकण्ठ–१० मा महिलाका लागि फेस–मेकअप तालिम सञ्चालन, वडा अध्यक्ष भट्टराईद्वारा सहभागिताको आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०८२, मंगलवार ०७:५६

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १० ले महिला सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनको उद्देश्यसहित फेस–मेकअप सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ

उद्योग तथा वाणिज्य कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत कार्यक्रम अन्तर्गत सम्बन्धित फाउन्डेसनको सहकार्यमा वडा नं. १० का महिलाहरूलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ।

तालिममा सहभागी हुन इच्छुक महिलाहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। आवेदन फाराम वडा कार्यालयबाटै प्राप्त गर्न सकिने जानकारी दिइएको छ।

तालिममा सहभागी हुन आवश्यक योग्यता:

  • एसईई उत्तीर्ण

  • उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

आवश्यक कागजातहरू:

  • नेपाली नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि

  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि

यस अवसरमा वडा अध्यक्ष नवराज भट्टराईले वडावासी महिलाहरूलाई तालिममा सहभागी हुन आग्रह गर्दै भन्नुभयो— “यो तालिम महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण अवसर हो। सीप सिकेर स्वरोजगार बन्न चाहने वडा नं. १० का सबै योग्य महिलाहरूले यो अवसरको भरपूर उपयोग गर्न अनुरोध गर्दछु।”

वडा कार्यालयले तालिमले महिलाहरूको व्यावसायिक क्षमता विकास गर्दै आयआर्जनको बाटो खोल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

भर्खरै