काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्याँसको सहज आपूर्ति तथा बिक्री वितरण सुनिश्चित गर्न फेब्रुअरी महिनाका लागि २ हजार मेट्रिक टन ग्याँस थप गरेको जानकारी दिएको छ। निगमका अनुसार हाल दैनिक औसत ११० बुलेट ग्याँस आयात भइरहेको छ।
निगमले काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिब २३ वटा ग्याँस उद्योगहरूमध्ये केही उद्योगको पछिल्लो बिक्री वितरण अवस्थालाई आधार मान्दा दैनिक करिब ४० हजार सिलिण्डर ग्याँस बजारमा उपलब्ध गराइँदै आएको जनाएको छ।
यद्यपि, एलपी ग्याँस वितरणलाई सहज बनाउन निरन्तर प्रयास भइरहे पनि हाल काठमाडौं उपत्यकामा ग्याँसको माग उच्च रहेको निगमले जनाएको छ। यस क्रममा उपत्यकामा बजारीकरण गर्ने केही ग्याँस उद्योगहरूमध्ये नेपाल ग्याँस, एभरेष्ट ग्याँस, साइवावा ग्याँस तथा श्रीकृष्ण ग्याँस ब्रान्डका सिलिण्डर डिलरमार्फत नपाएको गुनासो आएको बताइएको छ।
यदि ती ब्रान्डका ग्याँस सिलिण्डर डिलरबाट नपाएमा निगमको हटलाइन नम्बर ०१–५९७१९०२ (कार्यालय समयभित्र) सम्पर्क गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।
साथै, निगमले तत्काल आवश्यक मात्रामा मात्रै ग्याँस खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गरेको छ।
प्रतिक्रिया