काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बुझाएको लिखित बयानमा भदौ २४ गते नेपाली सेना परिचालन गर्ने प्रयास भए पनि त्यो सम्भव हुन नसकेको उल्लेख गरेका छन्।
जाँचबुझ आयोगमा दिएको लिखित जवाफमा ओलीले २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको र उक्त बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने तथा युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको बताएका छन्। साथै, आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश गरेको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको उनको दाबी छ।
ओलीले आन्दोलनमा सहभागी अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले स्पष्ट देखाएको पनि उल्लेख गरेका छन्। भदौ २३ गते आन्दोलनका क्रममा तोडफोड सुरु भई एक्कासि गोली प्रहार भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको उनले बताएका छन्।
त्यस्तै, आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाकै दिन तथा त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेको कारण निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको कुरा पनि ओलीले आफ्नो लिखित बयानमा उल्लेख गरेका छन्।
यसैबीच, आयोगले घटनाको छानबिनका क्रममा ओलीलाई विदेश भ्रमणमा रोक तथा अनुमति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय असोज १२ गते गरेको थियो। तर, सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न भइसकेको भन्दै आयोगले सोमबार उक्त निर्णय फुकुवा गरेको जनाएको छ।
आयोगले आइतबार ओलीलाई बयानका लागि पत्र काटेको थियो। तर, पत्र लिएर गुण्डुस्थित निवास पुगेको आयोगको टोलीलाई ओलीले लिखित बयान पठाएका थिए।
प्रतिक्रिया