काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन नपाउने भएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी प्रावधानका आधारमा निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको थियो। उक्त घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनै तहका अदालतले दोषी ठहर गरेको थियो।
यद्यपि, चौधरीलाई गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १४ गते बाँकी सजाय मिनाहा गरिएको थियो। तर सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट अझै विचाराधीन रहेको छ।
प्रतिक्रिया