जुम्ला यातायात कार्यालयको लाइसेन्स घोटाला : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०८२, सोमबार ०७:०८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा प्रयोगात्मक परीक्षामा फेल भएका तथा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका व्यक्तिलाई समेत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख मदनप्रसाद देवकोटा, मेकानिकल सुपरभाइजर शम्भु दाहाल र प्रहरी नायव निरीक्षक (सई) गंगाराम विश्वकर्माविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।

अख्तियारको अनुसन्धानका क्रममा मलेसियामा रोजगारीमा रहेका शालिकराम भण्डारीको नाममा जुम्लाबाट वर्ग ‘ब’ को लाइसेन्स जारी गरिएको तथ्य खुलेको छ। भण्डारी २०७० भदौ १९ गते मलेसिया गएका थिए र २०७५ भदौ २३ गते मात्र नेपाल फर्किएका थिए। तर, उनी मलेसियामै रहेको समयमा २०७५ साउन २० गते लिखित तथा प्रयोगात्मक परीक्षामा ‘पास’ भएको देखाई साउन २५ गते लाइसेन्स नम्बर १४–००४५२३ जारी गरिएको पाइएको छ।

फेल भएका १७ जनालाई ‘सेटिङ’मा पास

अनुसन्धानका अनुसार भण्डारीबाहेक प्रयोगात्मक परीक्षा (ट्रायल) मा फेल भएका वा अनुपस्थित रहेका अन्य १७ जना परीक्षार्थीलाई पनि गैरकानुनी रूपमा उत्तीर्ण गराइएको छ। कम्प्युटर प्रणालीमा ‘फेल’ वा ‘अनुपस्थित’ देखिएको नतिजालाई ‘युजर आईडी ४६७’ प्रयोग गरी अनधिकृत रूपमा सच्याएर ‘पास’ बनाइएको अख्तियारको दाबी छ।

लाइसेन्स पाउनेमा फेल भएका शिवबहादुर क्षेत्री, अंकबहादुर शाही, शान्ता कुमारी चौलागाई, प्रेमप्रसाद उपाध्याय, मेघराज डाँगी, मीनबहादुर मल्ल, सरस्वती भुर्तेल, सबिका दाहाल, दीपक शाही, रेशम अधिकारी, नेत्रकला जैसी, आस्था भट्टराई, विकास खत्री, आरती न्यौपाने, लोकेन्द्र मल्ल र ताराबहादुर थापा रहेका छन्। साथै, परीक्षामा अनुपस्थित हिमाल बोहोरा र कुङ सन्डुप लामालाई पनि उत्तीर्ण देखाइएको छ।

यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाको प्राविधिक प्रतिवेदनअनुसार तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटाले आफ्नै युजर आईडी प्रयोग गरी परीक्षाको नतिजा फेरबदल गरेको पुष्टि भएको छ। राष्ट्रसेवक कर्मचारीहरूले बदनियत राखी सरकारी कागजात तथा विद्युतीय अभिलेखमा केरमेट र थपघट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

प्रतिक्रिया

Leave a Reply