काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन्। शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयको निर्णयअनुसार उनलाई हाजिर जमानीमा छाडिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं दुई दिन हिरासतमा बसेपछि रिहा भएका हुन्।
निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार मानेर प्रहरीले साइबर ब्यूरोमार्फत अनुसन्धान थालेको थियो। विद्युतिय माध्यम प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनी पक्राउ परेका थिए।
पक्राउ पर्नुअघि प्रसाईंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलेको छ। उच्च सुरक्षा स्रोतका अनुसार माघ २२ गते भक्तपुरमा ओली र प्रसाईंबीच भेट भएको थियो। उक्त भेटपछि प्रसाईं वीरगञ्जमा कार्यक्रम गर्न पर्सा जाँदै थिए।
सुरक्षा निकायका अनुसार वीरगञ्जको कार्यक्रममार्फत फागुन २१ गते हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्ने तयारी भइरहेको सुराकका आधारमा उच्च तहमा ब्रिफिङ गरिएको थियो। त्यसपछि प्रसाईंलाई पक्राउ गर्ने निर्णय भएको स्रोतको दाबी छ।
एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)सँग उनको प्रतिस्पर्धा रहेको छ।
प्रतिक्रिया