अन्तरपालिका साझेदारी कार्यक्रमअन्तर्गत शैक्षिक गुणस्तर प्रवर्द्धनः से फोक्सुण्डो गाउँपालिका–तापिरिचा माविका विद्यार्थीलाई बुढानीलकण्ठ नगरपालिकामा व्यवहारिक सिकाइ अभ्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०८२, आईतवार १७:३५

काठमाडौँ । डोल्पा जिल्लाको उच्च हिमाली क्षेत्र से फोक्सुण्डो गाउँपालिका अन्तर्गत तापिरिचा माध्यमिक विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूका लागि बुढानीलकण्ठ नगरपालिका, शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा ‘अन्तरपालिका साझेदारी कार्यक्रम’ अन्तर्गत सिकाइसम्बन्धी विशेष शैक्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

दुर्गम तथा हिमाली क्षेत्रका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार, सिकाइमा समान अवसर सुनिश्चित गर्ने तथा व्यवहारिक शिक्षाको अभ्यास गराउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रम संयोजक शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह रहनुभएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला , प्रशासकीय प्रमुख महेश पाठक, शिक्षा अधिकृत अनिता खनाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै डोल्पाको से फोक्सुण्डो गाउँपालिका–तापिरिचा माध्यमिक विद्यालयका शिक्षक–शिक्षिका तथा SEE मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रमुख अतिथि अनिता लामाको धारणा

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख अनिता लामाले सिकाइ र लेखाइ दुवै विद्यार्थी जीवनका आधार स्तम्भ भएको उल्लेख गर्नुभयो। उहाँले SEE परीक्षा केवल अंक ल्याउने माध्यम मात्र नभई भविष्य निर्माण गर्ने अवसर भएको बताउँदै कसरी पढ्ने, कसरी लेख्ने, प्रश्नको आशय बुझेर उत्तर प्रस्तुत गर्ने विषयमा चरणबद्ध रूपमा स्पष्ट पार्नुभयो।

लामाले विद्यार्थीहरूलाई नियमित अध्ययन, आत्मअनुशासन र निरन्तर अभ्यासमा जोड दिनुका साथै डरभन्दा आत्मविश्वासका साथ परीक्षा सामना गर्न आग्रह गर्नुभयो। “सिकाइ जीवनभर चलिरहने प्रक्रिया हो, आज सिकेको सीपले भोलिको बाटो बनाउँछ,” उहाँको भनाइ थियो।

ललित विक्रम सिंहद्वारा पाठ्यक्रम, लेखन र प्रश्न–उत्तर सीपमा प्रशिक्षण

कार्यक्रम संयोजक तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले SEE केन्द्रित सम्पूर्ण पाठ्यक्रमको संक्षिप्त परिचय, विषयगत तयारीको तरिका तथा उत्तर लेख्ने कलाबारे विस्तृत प्रशिक्षण दिनुभयो। उहाँले प्रश्न बुझ्ने तरिका, मुख्य बुँदा पहिचान गर्ने, समय व्यवस्थापन र उत्तरलाई आकर्षक बनाउने सीपबारे व्यवहारिक उदाहरणसहित जानकारी दिनुभयो।

सिंहले विद्यार्थीहरूलाई केवल पढाइमा सीमित नराखी सोच्ने, विश्लेषण गर्ने र आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, परीक्षामा सामान्य गल्तीहरू कसरी टार्ने भन्ने विषयमा पनि उपयोगी सुझावहरू प्रस्तुत गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको व्यावहारिक शिक्षा दृष्टिकोण

विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले शिक्षा र रोजगारीबीचको सम्बन्धलाई जोड दिँदै सिकाइलाई व्यवहारिक सीपसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो जन्मथलो, समाज र स्थानीय पहिचानप्रति जिम्मेवार बन्न आग्रह गर्दै शिक्षा केवल जागिर खोज्ने माध्यम नभई आफ्नो ठाउँको विकासमा योगदान गर्ने आधार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

बर्तौलाले हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूमा अपार सम्भावना रहेको उल्लेख गर्दै उचित मार्गदर्शन, प्रविधि र व्यवहारिक शिक्षाबाट ती सम्भावनालाई उजागर गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। “आफ्नो ठाउँलाई माया गर्ने र सिकेको सीपलाई रोजगारी तथा उद्यमसँग जोड्न सक्ने विद्यार्थी नै भविष्यका सक्षम नागरिक हुन्,” उहाँको भनाइ थियो।

व्यावहारिक सिकाइ अभ्यासले विद्यार्थी उत्साहित

कार्यक्रमको मुख्य आकर्षणका रूपमा SEE लक्षित व्यावहारिक सिकाइ अभ्यास सञ्चालन गरिएको थियो। विद्यार्थीहरूलाई कसरी प्रभावकारी रूपमा पढ्ने, नोट बनाउने, प्रश्न विश्लेषण गर्ने र उत्तर लेख्ने भन्ने विषयमा प्रत्यक्ष अभ्यास गराइएको थियो।

लामो उत्तर लेख्दा भूमिका, मुख्य भाग र निष्कर्ष कसरी मिलाउने, शब्द चयन, वाक्य संरचना, सफा लेखाइ तथा समय व्यवस्थापनबारे विद्यार्थीहरूले प्रत्यक्ष अभ्यास गर्ने अवसर पाए। समूहगत छलफल, उदाहरण विश्लेषण र प्रश्न–उत्तर अभ्यासले सिकाइलाई थप रोचक र प्रभावकारी बनाएको थियो।

विद्यार्थी र शिक्षकको सकारात्मक प्रतिक्रिया

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्तो सिकाइ कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्। धेरै विद्यार्थीले पढाइप्रतिको डर हटेको, आत्मविश्वास बढेको र परीक्षा तयारीको स्पष्ट मार्गदर्शन पाएको बताएका छन्।

त्यसैगरी, सहभागी शिक्षक–शिक्षिकाहरूले पनि यस्तो अवसर प्रदान गरेकोमा बुढानीलकण्ठ नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै अन्तरपालिका साझेदारी कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमले विद्यार्थीहरूलाई मात्र होइन, शिक्षकहरूलाई पनि नयाँ शिक्षण दृष्टिकोण सिक्न मद्दत पुगेको भन्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।

   

प्रतिक्रिया

Leave a Reply