गोकर्णेश्वरमा सर्लाही–४ का मतदातासँग गगन थापाको भेटघाट, कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०८२, आईतवार ०६:१४

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न पेशा–व्यवसायमा संलग्न सर्लाही क्षेत्र नम्बर ४ का मतदातासँग नेपाली कांग्रेसका सभापति गगन थापाले भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

आयोजित एक समारोहमा सभापति थापाले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै कांग्रेसले लोकतन्त्र, सुशासन र समावेशी विकासलाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । “देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान कांग्रेसको नेतृत्व आवश्यक छ,” उनले भने, “जनताको विश्वास र सहभागिताले मात्र सकारात्मक परिवर्तन सम्भव हुन्छ।”

कार्यक्रममा पूर्व अर्थसमिति सभापति सन्तोष चालिसेले कांग्रेसले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र सामाजिक न्यायका मुद्दालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे । “जनताको जीवनस्तर उकास्ने ठोस नीति कांग्रेससँग छ,” उनले बताए, “अबको निर्वाचनमा कांग्रेसप्रति जनसमर्थन अझ बलियो हुँदै गएको छ।”

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले स्थानीय तहको अनुभव साझा गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । “स्थानीय विकासका लागि केन्द्रमा बलियो र जिम्मेवार नेतृत्व अपरिहार्य छ,” उनले भने, “कांग्रेसले स्थानीय तहको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन सक्छ।”

त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनजीविकाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । “शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास मेरा मुख्य एजेन्डा हुन्,” उनले भने, “जनताको विश्वासलाई काममार्फत् प्रमाणित गर्नेछु।”

कार्यक्रममा सहभागी सर्लाही क्षेत्र ४ का मतदाताहरूले गोकर्णेश्वरमा बसोबास गरे पनि आफ्नो राजनीतिक सरोकार र सहभागिता निरन्तर रहने बताउँदै कांग्रेस नेतृत्वसँग थप सहकार्यको अपेक्षा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply