काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला यसपटक पूर्ण रूपमा एमालेमय अर्थात् “सूर्यमय” हुने दाबी गरेका छन्।
शुक्रबार गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले देश विषम परिस्थितिमा पुगेको उल्लेख गर्दै देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश आवश्यक रहेको बताए।
“अहिले देश विषम परिस्थितिमा पुगेको छ। देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन जरुरी छ,” ओलीले भने।
झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको दाबी गर्दै उनले झापालाई सूर्यमय बनाउन पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
अध्यक्ष ओलीले युवापुस्ता एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवाहरूको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सत्य र विकासको पक्षमा जनता रहेको भन्दै कुनै पनि षड्यन्त्रले एमालेको जित रोक्न नसक्ने दाबी गरे।
आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै अध्यक्ष ओलीले झापाबाटै त्यसको स्पष्ट सन्देश जाने बताए।
प्रतिक्रिया