काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा निर्वाचनपछि प्रतिनिधिसभामा पनि गठबन्धन गर्ने प्रस्ताव एमालेबाट आएको खुलासा गरेका छन्।
शनिबार सिन्धुलीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै दाहालले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नेकपालाई बाहिर राखेपछि उक्त गठबन्धनको सम्भावना स्वतः टरेको बताएका हुन्।
प्रचण्डका अनुसार कांग्रेस र एमालेका केही खास नेताहरूलाई जिताउने गरी सिट समायोजन (सिट एडजस्टमेन्ट) गर्ने प्रस्ताव आएको थियो। सो प्रस्तावमा नेकपाले न त सैद्धान्तिक रूपमा अस्वीकार गरेको थियो, न त तत्काल स्वीकार नै गरेको थियो।
“कांग्रेसको विशेष महाधिवेशन हुनुभन्दा अगाडि र राष्ट्रियसभाका सदस्यको निर्वाचन हुनुभन्दा अगाडि कुरा भएको थियो,” दाहालले भने, “यो प्रस्ताव हाम्रो होइन। नेपाली कांग्रेस र नेकपा (एमाले) को प्रस्ताव के थियो भने केही खास नेताहरूको हकमा जित सुनिश्चित हुने गरी सिट एडजस्ट गर्नुपर्छ भन्ने थियो।”
उनका अनुसार नेकपाले उक्त प्रस्तावलाई सैद्धान्तिक रूपमा खुला राखे पनि त्यसको परीक्षण राष्ट्रियसभा निर्वाचनबाट हुने अपेक्षा गरिएको थियो।
“हामीले भनेका थियौँ—यदि राष्ट्रियसभाको निर्वाचनमा इमानदारिता देखियो भने केही सिट एडजस्ट गर्न पनि सकिएला,” उनले भने, “तर राष्ट्रियसभाको निर्वाचनमा उहाँहरूले नेपाली कम्युनिष्ट पार्टीलाई आउट गर्ने बाटो समाउनुभयो। त्यसपछि कुनै पनि समीकरण बन्न सकेन।”
दाहालले राष्ट्रियसभा निर्वाचनको परिणामले कांग्रेस–एमालेबीचको रणनीति स्पष्ट भएको र त्यसपछि प्रतिनिधिसभामा समेत गठबन्धनको सम्भावना समाप्त भएको संकेत गरे।
प्रतिक्रिया