बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु, ४५ घाइते उकालो सडकमा अत्यधिक भार दुर्घटनाको सम्भावित कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८२, शुक्रबार ०७:३८

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा पर्दा कम्तीमा आठ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पुर्चौडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर फर्किँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक कुमार रायका अनुसार हालसम्म आठ जनाको मृत्यु पुष्टि भएको छ। मृतकहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेश राज जोशी रहेका छन्।

त्यसैगरी बझाङकै केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडीको पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उकालो सडकमा अत्यधिक भार बोकेको बस अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply