त्रिभुवन विमानस्थल भन्सारका अधिकृत न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ २ लाख ६८ हजार नगद र २३ थान मोबाइल अख्तियारको नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८२, शुक्रबार ०७:११

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभागअन्तर्गत गोश्वारा हुलाक कार्यालय निकासी शाखामा कार्यरत नायब सुब्बा (नासु) छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ नगद र २३ थान मोबाइल फोन बरामद गरिएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले तीनै जना कर्मचारी तथा अन्य केही शंकास्पद व्यक्तिसँग सम्बन्धित मोबाइल फोनहरू समेत नियन्त्रणमा लिइएको जानकारी दिए।

नेपालबाट कुरिअरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस लिने गरेको उजुरीपछि अख्तियारले टंगालबाट टोली खटाई अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार रुपैयाँ घुस बरामद गरिएको छ भने उनको घरबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ। त्यस्तै, उनको साथबाट थप ९६ हजार ७० रुपैयाँ समेत बरामद भएको छ। यसरी पुडासैनीबाट कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको हो।

त्यसैगरी नासु रिजालले सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुस र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार अधिकृत न्यौपाने, नासु रिजाल र कार्यालय सहयोगी पुडासैनीको मिलेमतोमा सेवाग्राहीसँग घुस लिइएको र रकम बाँडफाँट हुनुअगावै उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

तीनै जनासहित अन्य कर्मचारीबाट बरामद गरिएका २३ थान मोबाइल फोन विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी भइरहेको अख्तियारले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

slot gacor