फागुन २१ गते देशभर एकै चरणमा शान्तिपूर्ण निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की कुनै पनि जिल्लामा दोस्रो चरणको मतदान नहुने स्पष्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०८२, शुक्रबार ०७:०६

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर एकै चरणमा, एकै दिन शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन्। कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने उनको दाबी छ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क रहन आग्रह गरिन्।

मतपत्र छपाइ अवलोकनपछि उत्साहित देखिएकी प्रधानमन्त्री कार्कीले भनिन्,
“मतपत्र छपाइ भएको हेर्दा मलाई निकै उत्साह जागेर आयो। अब निर्वाचन आयो भन्ने अनुभूति भयो, जनताले छाप लाउन मात्रै बाँकी छ। यहाँ प्रेसका कर्मचारीहरूले अत्यन्त राम्रो काम गर्नुभएको रहेछ।”

निर्वाचनका चार खम्बामध्ये निर्वाचन आयोग महत्वपूर्ण खम्बा रहेको उल्लेख गर्दै उनले देशभर निर्वाचनको माहौल बनिसकेको बताइन्।
“चुनाव एउटै हुन्छ, एकै दिन हुन्छ। दुई पटक मतदान हुने कुरा कहीँ पनि छैन। तोकिएकै मितिमा देशभर चुनाव हुन्छ,” उनले स्पष्ट पारिन्।

निर्वाचनको दिन फागुन २१ गते मौसम पनि अनुकूल हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै नागरिकले निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बनेको बताइन्।
“मतदानपछि नतिजा आउँछ, नयाँ सरकार बन्छ र हामी जिम्मेवारी हस्तान्तरण गरेर आ–आफ्ना घर फर्कन्छौँ,” उनले भनिन्।

सुरक्षा व्यवस्था थप सुदृढ : गृहमन्त्री अर्याल

मतपत्र छपाइ अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी वातावरण बन्दै गएको बताए। उनले विगतका कठिन परिस्थितिको स्मरण गर्दै भने,
“भदौ २३ र २४ गते मुलुक गम्भीर सङ्कटमा थियो। अहिले राजनीतिक हिंसा र द्वन्द्व क्रमशः कम हुँदै गएको छ। देशभर चुनावी माहौल बनेको छ।”

गृहमन्त्री अर्यालले तोकिएकै मितिमा शान्तिपूर्ण निर्वाचन हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे। वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न अघिल्लोपटकभन्दा थप सुदृढ सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।

निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको बताउँदै उनले अति संवेदनशील र संवेदनशील क्षेत्रमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध लागू गरिने स्पष्ट पारे।

“देश र नागरिकलाई कुनै पनि हालतमा असुरक्षित हुन दिँदैनौँ। चुनावका क्रममा एक थोपा रगत पनि बग्न नदिने प्रधानमन्त्रीज्यूको प्रतिबद्धतालाई आत्मसात् गर्दै सुरक्षा योजना तयार गरिएको छ,” गृहमन्त्री अर्यालले भने।

निर्वाचनका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र जनताले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिने उनले बताए। सरकार देशभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढिरहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply