काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ मा तालमेलको प्रस्ताव अघि सारे पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।
चुनावी तालमेलका विषयमा ओली र दाहालबीच टेलिफोन संवाद भए पनि नेकपाले देशभर १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको मनोनयन दर्ता भई युद्धस्तरमा प्रचारप्रसार सुरु भइसकेको जनाउँदै तालमेल सम्भव नरहेको जवाफ दिएको हो।
नेकपाका निर्वाचन प्रचारप्रसार समिति संयोजक अग्नि सापकोटाले एमालेबाट तालमेलको प्रस्ताव आएको पुष्टि गर्दै भने, “हामीले १६४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर प्रचार अभियान सुरु गरिसकेका छौँ। अब नेकपाले कसैसँग पनि तालमेल गर्दैन।”
झापा–५ मा नेकपाबाट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ उम्मेदवार रहेका छन्। एमाले–नेकपा तालमेलको चर्चा चुलिँदै गएपछि संयोजक दाहालले कुनै पनि दलसँग तालमेल नहुने स्पष्ट निर्देशन दिएका हुन्।
दाहालले १६४ वटै निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिलाई घरदैलो अभियानलाई थप तीव्र बनाउन निर्देशन दिएका छन्। सबै जिल्लाका निर्वाचन परिचालन समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले एमालेलगायत अन्य दलसँग तालमेलको भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
यता, आफू उम्मेदवार रहेको रुकुम पूर्वमा एमालेले प्रलोपा उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेपछि दाहाल सशङ्कित बनेको उल्लेख गरिएको छ। सो क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार लीलामणि गौतमलाई निष्क्रिय बनाउँदै सन्दीप पुनलाई समर्थन गरेपछि नेकपाभित्र असन्तोष देखिएको बताइएको छ।
प्रतिक्रिया