कागेश्वरी मनोहरा नगर अस्पतालमा आधुनिक शवगृह सेवा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८२, बिहीबार ०७:५८

काठमाडौँ।  कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित कागेश्वरी मनोहरा नगर अस्पतालमा आधुनिक शवगृह (Mortuary House) सेवा सञ्चालनमा आएको छ। अस्पतालले शवगृह सेवालाई २४ घण्टा सञ्चालन गर्दै सेवाग्राहीलाई सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलका अनुसार, सेवा आकस्मिक मृत्यु, उपचार क्रममा मृत्यु वा विदेशबाट ल्याइएका शवको सम्मानजनक संरक्षणमा सहयोग पुग्नेछ। शवगृह सञ्चालनका लागि अस्पतालले कार्यविधि तयार पारेको छ, जसअनुसार शवको सरसफाइ, तापक्रम व्यवस्थापन, कानुनी प्रक्रिया पूरा गरी मात्र शव हस्तान्तरण गरिने व्यवस्था गरिएको छ।

शव राख्ने शुल्क नगरपालिकाभित्रका स्थायी बासिन्दाका लागि २४ घण्टासम्म ८ सय रुपैयाँ, नगरपालिकाबाहिरका सेवाग्राहीका लागि २ हजार ३ सय रुपैयाँ तोकिएको छ। विपन्न, असहाय र बेवारिसे शव सामाजिक सेवा इकाइमार्फत व्यवस्थापन गरिनेछ। महामारीजन्य रोगका कारण मृत्यु भएकाहरूको शव नेपाल सरकारको प्रचलित प्रोटोकलअनुसार व्यवस्थापन गरिनेछ।

नगरप्रमुख उपेन्द्र कार्कीले भने, “नागरिकको जीवन मात्र होइन, मृत्युपछि व्यवस्थापन पनि स्थानीय सरकारको जिम्मेवारी हो। दुःखको घडीमा परिवारले अनावश्यक हैरानी नपरोस् भन्ने उद्देश्यले सेवाको पारदर्शी, सुलभ र मर्यादित सञ्चालन सुनिश्चित गरेका छौँ।”

अस्पताल हाल ३०–३५ शैय्यामा नियमित सेवा दिँदै आएको छ भने ओपीडी सेवा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा छ। पछिल्ला दिनमा बिरामीको संख्या अत्यधिक बढ्दै गएको र अस्पताल बागमती प्रदेशकै नमुना अस्पतालका रूपमा विकसित हुँदै गएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply