काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा स्थानीय बासिन्दालाई लक्षित गरी ईएमएस (EMS) मोबाइल तालिम सञ्चालन हुने भएको छ।
वडा कार्यालयको सूचनाअनुसार, ग्लोबल एसिया मल्टिसर्भिस प्रा.लि.को सहकार्यमा उक्त तालिम सञ्चालन गर्न लागिएको हो। वडा कार्यालयले स्थानीय युवायुवती तथा व्यवसाय गर्न इच्छुक नागरिकलाई लक्षित गरी पसल सञ्चालन गर्न सक्ने सीप विकासका लागि तालिम आयोजना गर्न लागेको जनाएको छ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले तोकिएको मितिभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ। तालिममा सहभागी हुनका लागि नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, बसाइँसराइ आएको हकमा बसाइँसराइको प्रतिलिपि र पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ।
यस सम्बन्धमा वडा अध्यक्ष नवराज लामाले स्थानीय युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउँदै भन्नुभयो, “वडा नं. ६ भित्र रहेका युवायुवतीलाई सीपमूलक तालिममार्फत रोजगारी र स्वरोजगारतर्फ जोड्नु हाम्रो प्राथमिकता हो। यस्तो तालिमले युवालाई व्यवसायिक रूपमा सक्षम बनाउने विश्वास लिएको छु।” वडा कार्यालयले थप जानकारीका लागि सूचनामा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया