राष्ट्रपति पौडेल जापान भ्रमण सकेर स्वदेश फर्किए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०८२, बिहीबार ०७:०४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरू तथा सुरक्षा निकायका प्रमुखहरूले बुधबार स्वागत गरे। सो अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापान पुगेका थिए। भ्रमणका क्रममा उनले टोकियोमा जापान सरकारले आयोजना गरेको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भई सम्बोधन गरेका थिए।

यस्तै, राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए। उनले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय, जापानमा रहेका नेपालीहरूको कार्यक्रमलाई सम्बोधन गर्नुका साथै जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरेका थिए।

नेपाल र जापानबिच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेका थिए।

प्रतिक्रिया

Leave a Reply