काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले कानुन उल्लंघन गर्ने जोसुकैलाई पनि संरक्षण नदिने स्पष्ट पारेका छन्। आम नागरिकका विषयलाई प्राथमिकतामा राख्दै उनले नेता, नातागोता वा प्रभावशाली जो कोही भए पनि कानुन मिच्नेले संरक्षण नपाउने पद्धति स्थापित गरिने बताए।
‘नेपाली कांग्रेस कानुन उल्लंघन गर्ने व्यक्ति रुखको छहारीमा बसेको रहेछ भने पनि त्यसको संरक्षण गर्दैन,’ थापाले भने, ‘नेता होस् वा नाताको, कानुन उल्लंघन गर्नेले संरक्षण पाउँदैन।’
कांग्रेसप्रति आमनागरिकको विश्वास बढ्दै जाने दाबी गर्दै उनले अब पार्टीबाट कोही पनि टाढा रहेको महसुस गर्न नपर्ने बताए। पार्टीमा नलागेकादेखि पार्टी छोडेकाहरूलाई पुनः सक्रिय हुन आह्वान गर्दै सबैको विश्वास बोकेको पार्टी बनाएर देश परिवर्तन गर्ने विश्वास व्यक्त गरे।
जेनजीको आह्वानअनुसार पार्टी परिवर्तन गरिएको उल्लेख गर्दै सभापति थापाले युवालाई साथमा लिएर अघि बढ्न आग्रह गरे। व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्ने नागरिकको समर्थनमा कांग्रेस अघि बढेको उल्लेख गर्दै उनले बदलिएको कांग्रेससँग एकपटक साथ दिन आग्रह गरे।
प्रतिक्रिया