म्याग्दी । अर्थमन्त्री रामेश्वर खनालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्। निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थापनबारे जानकारी लिन बुधबार म्याग्दी पुगेका अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक जनशक्ति, आर्थिक तथा अन्य व्यवस्थापनमा कुनै कमी नहुने स्पष्ट पारे।
हिमाली क्षेत्रमा हिमपात भएमा सोही दिन निर्णय हुने उल्लेख गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्न राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए। निरीक्षणका क्रममा उनले जेनजी आन्दोलनबाट भएको क्षति, निर्वाचनमा त्यसको प्रभाव र उम्मेदवारको सुरक्षा जोखिमबारे चासो व्यक्त गरे।
जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले हालसम्मको तयारीबारे जानकारी गराएका थिए भने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले निर्वाचन आचारसंहिताको पालना भइरहेको बताएका छन्। निर्वाचनलक्षित सुरक्षा योजना, मतदानस्थल निरीक्षण र मतपेटिका ढुवानीमा हेलिकोप्टर प्रयोगका विषयमा समेत छलफल भएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेका छन्। जिल्लामा ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ।
प्रतिक्रिया