बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा रुद्रमति (धोबीखोला) सरसफाइ कार्यक्रम मिति २०८२ साल माघ १५ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ। खोला स्वच्छ, सुन्दर र सुरक्षित राख्ने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गरिएको हो।
कार्यक्रमअन्तर्गत करिब ५० जना सरसफाइकर्मीलाई नौलिनस्थान पूल, करुणा अस्पताल पूल, हाकुचा पूल र मितेरी पूल गरी चार स्थानबाट परिचालन गरिएको छ। सरसफाइ टोलीले खोलाभित्र जमेको माटोको डिस्को फोर्ने, खोलाको पर्खालमा उम्रिएका झार–झाँडी उखेल्ने लगायतका कार्य गरिरहेका छन्। सरसफाइ कार्य बिहान ७ बजेदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
नगरपालिकाले सरसफाइमा खटिएका कामदारहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक १५ दिनमा एक पटक बुढानीलकण्ठ नगर अस्पतालमा स्वास्थ्य परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ।
नगरप्रमुख मिठाराम अधिकारीका अनुसार रुद्रमति (धोबीखोला) सरसफाइ कार्य हरेक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको छ। उहाँले वर्षात् नजिकिँदै गर्दा समयमै खोला तथा नालाको सरसफाइ गर्नाले खोला सुन्दर देखिनुका साथै बाढी, डुबान तथा अन्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
नगरपालिकाले आगामी दिनमा समेत वातावरण संरक्षण र जलस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै यस्ता सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया