राष्ट्रपति पौडेलद्वारा नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८२, बुधबार ०६:५१

काठमाडौँ । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सम्बन्ध क्रमशः अझ निकट र गहिरो मित्रतामा रूपान्तरण हुँदै गएको बताएका छन्।

मंगलबार जापानका प्रधानमन्त्री तकाइची सनायसँग भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन जापानी नेतृत्वसँग मिलेर काम गर्न नेपाल इच्छुक रहेको स्पष्ट पारे।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई महत्वपूर्ण कोशेढुंगा भन्दै उनले व्यापार, लगानी र विकास सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गरे। साथै, नेपालको सामाजिक–आर्थिक विकासमा जापान प्रमुख विकास साझेदार रहेको पनि बताए।

जवाफमा प्रधानमन्त्री सनायले नेपालको स्थायित्व क्षेत्रीय रूपमा महत्वपूर्ण रहेको बताउँदै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलताको कामना गरिन् र जापानले निर्वाचनमा पर्यवेक्षक पठाउने जानकारी दिइन्।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुन जापान पुगेका हुन्।

प्रतिक्रिया

Leave a Reply