काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्न नयाँ कार्यविधि जारी गरेको छ।
आयोगले सोमबारदेखि लागू हुने गरी ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको हो।
कार्यविधिअनुसार निर्वाचन प्रचार–प्रसारका लागि उम्मेदवार र राजनीतिक दलले अनिवार्य रूपमा छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। प्रचार–प्रसारसँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबार नेपाली मुद्रामा मात्र गर्नुपर्ने प्रावधान राखिएको छ।
त्यस्तै, उम्मेदवारले प्राप्त गर्ने २५ हजार रुपैयाँभन्दा बढीको स्वैच्छिक आर्थिक सहयोग अनिवार्य रूपमा बैंक खातामार्फत लिनुपर्ने उल्लेख गरिएको छ। नगद कारोबारलाई सीमित गर्दै खर्चको पारदर्शिता र निगरानीलाई प्रभावकारी बनाउने उद्देश्य कार्यविधिको रहेको आयोगले जनाएको छ।
कार्यविधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचलित कानुनबमोजिम निर्वाचन प्रचार–प्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
दल तथा उम्मेदवारले बुझाएको खर्च विवरणको प्रतिवेदन तयार भएको ३५ दिनभित्र आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयले सम्बन्धित बैंक खाता बन्द गराउने व्यवस्था गरिएको छ। यद्यपि, बैंक खातासम्बन्धी सम्पूर्ण विवरण भने कम्तीमा छ वर्षसम्म सुरक्षित राख्नुपर्ने प्रावधान गरिएको छ।
निर्वाचन खर्चमा पारदर्शिता, जवाफदेहिता र आर्थिक अनुशासन कायम गर्न कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।
प्रतिक्रिया