बुढानीलकण्ठ–१२ मा नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०८२, मंगलवार ०७:५२

काठमाडौँ ।  बुढानीलकण्ठ नगरपालिका वडा नं. १२, कपन–खरिबोटस्थित नवनिर्मित वडा प्रशासनिक भवनको विधिवत रूपमा समुद्घाटन सम्पन्न भएको छ। उक्त भवनबाट मिति २०८२ साल माघ २० गतेदेखि औपचारिक रूपमा सेवा तथा कार्य सञ्चालन सुरु हुने जनाइएको छ।

नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा स्तरीय सेवा प्रवाह थप सहज, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास लिइएको छ। भवनले वडा कार्यालयका नियमित प्रशासनिक कार्यका साथै नागरिकलाई आवश्यक सेवा–सुविधा एकै स्थानबाट प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

समुद्घाटन समारोहमा वडा नं. १२ का वडा अध्यक्ष शम्भु भट्टराईले नवनिर्मित प्रशासनिक भवनले वडाबासीको सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने बताउँदै भन्नुभयो,
“यो प्रशासनिक भवन वडाबासीका लागि निकै आवश्यक पूर्वाधार हो। अब सेवा लिनका लागि अनावश्यक झन्झट कम हुनेछ र आवतजावत पनि सहज हुनेछ। नागरिकमैत्री सेवा प्रवाह हाम्रो मुख्य उद्देश्य हो।”

अध्यक्ष भट्टराईले भवन सञ्चालनसँगै वडाबाट प्रदान गरिने सेवा छरितो, पारदर्शी र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले वडाको समग्र विकासका लागि आवश्यक पूर्वाधार निर्माण र सेवा सुधारका कामलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

स्थानीयवासीहरूले पनि नयाँ प्रशासनिक भवन निर्माण भएसँगै सेवा लिन सहज हुने भन्दै खुशी व्यक्त गरेका छन्। यसले वडा कार्यालय र नागरिकबीचको दूरी घटाउँदै स्थानीय शासन प्रणालीलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply