काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ का महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउने उद्देश्यले आयोजना गरिएको स्वरोजगार केन्द्रित LED बल्ब बनाउने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
सीप विकासमार्फत आर्थिक सशक्तीकरण र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालन गरिएको उक्त तालिमले सहभागी महिलाहरूमा नयाँ सीप, सम्भावना र आत्मविश्वास थप्ने विश्वास लिइएको छ।
कार्यक्रम समापन समारोहमा वडा नं. ३ का वडा अध्यक्ष आकाश धितालले महिलाको सीप र आत्मनिर्भरता नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै भने,
“महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने हाम्रो प्राथमिकता हो। यस्ता कार्यक्रमले घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण सिर्जना गर्छ र दीर्घकालीन रूपमा उद्यमशीलता विकासमा टेवा पुर्याउँछ।”
उनले वडा कार्यालयले आगामी दिनमा पनि महिलामैत्री तथा स्वरोजगारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
तालिममा सहभागी महिला दिदीबहिनीहरूले प्राप्त सीप व्यवहारमा उतारेर साना व्यवसाय सुरु गर्न सकिने अपेक्षा गरिएको छ। कार्यक्रमले महिलाहरूको आर्थिक सशक्तीकरणसँगै स्थानीय स्तरमा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्ण महिला दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

प्रतिक्रिया