काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि २१ माघ (बुधबार)देखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचनपूर्व सुरक्षा रणनीतिअनुसार सोही दिनदेखि नेपाली सेना फिल्ड गस्तीमा खटिनेछ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२’ अनुसार सेनाको परिचालन हुन लागेको हो। उनले भने, “हाम्रोतर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ। २१ माघदेखि निर्वाचनपूर्व सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ।”
निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन गरिनेछ। संवेदनशील क्षेत्र, मतदानस्थलको अवस्था र आवश्यकताका आधारमा गस्ती तथा पेट्रोलिङ गरिने र आवश्यकता परे संयुक्त गस्तीसमेत सञ्चालन गरिने सेनाले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए। त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी तालिम तथा अभ्यास सम्पन्न गरिसकेको छ।
९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा निर्वाचन सुरक्षा योजना तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा प्रतिवेदन बुझाएको थियो, जुन पारित भइसकेको छ।
गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा चारै सुरक्षा निकाय तथा निर्वाचन प्रहरीसमेत गरी कुल ३ लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन गरिनेछ।
यसअनुसार नेपाली सेनाबाट ७९ हजार ७२७ जना, नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना र प्रहरी मातहत रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुनेछन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीको तालिमसमेत सुरु भइसकेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुनेछन्। साथै निर्वाचन सुरक्षामा १ हजार ९२१ गुप्तचरसमेत खटाइने जनाइएको छ।
प्रतिक्रिया