काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। राजनीतिक दलहरूले पेस गरेका विवरणमाथि अध्ययन तथा छानबिन सम्पन्न भएपछि आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फ राजनीतिक दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची बुझाएका थिए।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६३ राजनीतिक दलले पेस गरेको विवरणअनुसार ५७ निर्वाचन चिह्नमार्फत समानुपातिक उम्मेदवार समावेश भएका छन्। सबै दलका गरी समानुपातिकतर्फ उम्मेदवारको कुल संख्या ३ हजार १३५ पुगेको छ।
अन्तिम बन्दसूचीअनुसार १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्।
प्रतिक्रिया