काठमाडौं । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा ६६६ जना बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ। शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले सुशासन, सेवा प्रवाह र नागरिक हितका क्षेत्रमा भएका प्रगतिबारे जानकारी दिएका हुन्।
प्रवक्ता पोखरेलका अनुसार सम्पत्ति छानबिन आयोगमा ११ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। ती उजुरीमाथि अनुसन्धानको प्रक्रिया अघि बढिरहेको र हालसम्म ६६६ बिचौलियालाई नियन्त्रणमा लिइएको उनले बताए।
सहकारी पीडितको बचत फिर्ताका विषयमा पनि सरकारले प्रगति भएको जनाएको छ। उनका अनुसार १० वटा सहकारीमार्फत २ करोड ६३ लाख ९० हजार रुपैयाँ बचत रकम सम्बन्धित बचतकर्तालाई फिर्ता गरिएको छ।
स्वास्थ्य सेवातर्फ सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार (बर्न) इकाइ स्थापना गरेको जनाएको छ, जसबाट जलनका बिरामीलाई सहज र विशेषज्ञ सेवा उपलब्ध हुने विश्वास गरिएको छ।
त्यसैगरी, काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम वितरण गरिएको जानकारी पनि सरकारले दिएको छ। पुनःस्थापनाको प्रारम्भिक व्यवस्थापनका लागि ती परिवारलाई राहत उपलब्ध गराइएको हो।
सेवा प्रवाहलाई सहज बनाउने अभियानअन्तर्गत सरकारले २ लाख ६ हजार ३३० थान राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म हुलाकमार्फत ढुवानी गरेको जनाएको छ। साथै सोही संख्यामा राहदानी सेवाग्राहीसम्म घरमै पुर्याइएको जानकारी पनि दिइएको छ।
यस्तै, २३ लाख ७५ हजार १८१ थान चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सम्पन्न भइसकेको सरकारले जनाएको छ। यसबाट लामो समयदेखि रोकिएका लाइसेन्स वितरणको समस्या समाधानतर्फ उल्लेखनीय प्रगति भएको सरकारको दाबी छ।
सरकारले पहिलो १०० दिनमा सुशासन, सार्वजनिक सेवा प्रवाह, सामाजिक सुरक्षा तथा प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ।
प्रतिक्रिया