५५ वर्षपछि घर फर्किए ‘लाहुरे’ धनबहादुर, मल्कबाङमा पुनर्मिलनको भावुक कथा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०८२, बुधबार ०६:५९

म्याग्दी ।  समयले बिर्सिसकेको ठानिएको एउटा पारिवारिक कथा ५५ वर्षपछि फेरि जीवित बनेको छ। म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन, जो २१ वर्षको उमेरमा ‘लाहुरे’ बन्ने सपना बोकेर घर छोडेपछि कहिल्यै नफर्किने ठानिएका थिए, आधा शताब्दीभन्दा बढी समयपछि आफ्नै परिवारको सम्पर्कमा आउनुभएको छ।

घरबाट निस्कँदा परिवारले यो बिछोड यति लामो हुनेछ भन्ने कल्पनासमेत गरेको थिएन। वर्षौँसम्म खोजी गर्दा पनि कतै अत्तोपत्तो नलागेपछि परिवारले उनलाई जिउँदो भेट्ने आश नै मारेको थियो। तर, बुढेसकालमा आफ्नै दाजु–भाइको खोजी गर्दै धनबहादुर घर फर्किँदा त्यो क्षण परिवारका लागि सपनाजस्तै बनेको छ।

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्ली–मनाली क्षेत्रमा स्याउ बगैँचामा काम गर्दै आएका धनबहादुर एक साताअघि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आउनुभएको हो। साहिला दाइ कृष्णप्रसाद तुलाचन भावुक हुँदै भन्नुहुन्छ, “लाहुरे हुन्छु भनेर गएको भाइ कहिल्यै फर्किन्छ भन्ने आश हामीले धेरै पहिल्यै मारेका थियौँ। तर बुढेसकालमा हामीलाई खोज्दै घर फर्किँदा यो सपना हो कि यथार्थ, छुट्याउनै सकिन।”

वर्षौँसम्म प्रतीक्षा, पीडा र मौनतामा बितेको परिवारको जीवन धनबहादुर घर फर्किएसँगै खुसीले भरिएको छ। कतै नभेटिएपछि माया मारिसकेको परिवारमा अहिले आँसु, हर्ष र राहत एकैसाथ मिसिएको छ।

धनबहादुरलाई आवश्यक कागजात तथा नागरिकता प्रक्रियाका लागि दाइ कृष्णप्रसाद तुलाचनले सदरमुकाम बेनी ल्याउनुभएको छ। आफ्नो पीडाको कथा सुनाउँदै धनबहादुर भन्नुहुन्छ, “मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएँ, पैदल र सवारी साधन चढ्दै भारत पुगेँ। त्यहाँ एउटा खुट्टामा गम्भीर चोट लागेपछि लामो समय थला परेँ, घर फर्किने अवस्था नै बनेन।”

जीवनले छुट्याएको परिवारलाई समयले फेरि जोडिदिएको यो पुनर्मिलन अहिले म्याग्दीमा मानवीय संवेदना, आशा र भरोसाको कथाका रूपमा चर्चा बनिरहेको छ—जहाँ ५५ वर्षको बिछोड अन्ततः मायामा आएर टुंगिएको छ।

प्रतिक्रिया

Leave a Reply