काठमाडौँ : अमेरिकाको न्युयोर्क सहरमा गएको एक सातादेखि जारी अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। न्युयोर्क सहरका मेयर जोहरान ममदानीले चिसोका कारण ज्यान गुमाउनेको संख्या बढेको जानकारी दिएका हुन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रारम्भिक अनुसन्धानबाट कम्तीमा आठ जनाको मृत्यु प्रत्यक्ष रूपमा चिसोको कारण भएको पुष्टि भइसकेको छ। अमेरिकामा जनवरी २५ तारिखदेखि सुरु भएको शक्तिशाली जाडो आँधीका कारण न्युयोर्कसहित विभिन्न क्षेत्रमा भारी हिमपात भएको थियो, जसका कारण सडक तथा फुटपाथहरू अवरुद्ध भएका थिए।
मेयर ममदानीले हालसम्म करिब ६ करोड ७० लाख पाउन्ड हिउँ हटाइसकिएको र त्यसका लागि करिब १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको जानकारी दिएका छन्। उनका अनुसार सहरलाई सुरक्षित र आवागमन योग्य बनाउन चौबीसै घण्टा सरसफाइ कार्य जारी छ।
चिसोको मारमा परेका घरबारविहीन तथा विस्थापित व्यक्तिहरूलाई सुरक्षित राख्न विशेष सुरक्षात्मक उपायहरू अपनाइएको सहर प्रशासनले जनाएको छ। घरबारविहीनहरूका लागि नयाँ आश्रयस्थल तथा आपतकालीन एकाइहरू खोलिएको र न्युयोर्क सहरका पाँचवटा स्थानमा तातो तथा सुरक्षित आश्रय उपलब्ध गराइएको जनाइएको छ।
सहर प्रशासनले अत्यधिक चिसोको समयमा अनावश्यक बाहिर ननिस्कन, आवश्यक सावधानी अपनाउन र आपतकालीन सेवाको सहयोग लिन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया