काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि हिमाली भागमा साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहँदा तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना कायमै रहनेछ।
तराईका भू–भागमा हुस्सु तथा कुहिरोको प्रभाव रहने र हिमाली क्षेत्रमा हिमपात तथा वर्षाका कारण चिसो बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया