चुनावी गठबन्धनबारे ओली–देउवा–प्रचण्डबीच संवाद सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०८२, मंगलवार ०७:०३

काठमाडौँ ।  प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख तीन दलका शीर्ष नेताबीच सम्भावित चुनावी गठबन्धनबारे संवाद सुरु भएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छलफल भएको हो।

स्रोतका अनुसार आइतबार काठमाडौँको ग्वार्कोस्थित एक अपार्टमेन्टमा तीन नेताबीच भेटवार्ता भएको थियो। भेटमा चुनावी सहकार्य, सिट बाँडफाँट तथा सम्भावित गठबन्धनका विकल्पबारे छलफल केन्द्रित रहेको बताइएको छ।

नेकपा संयोजक प्रचण्डले पनि शीर्ष नेताबीच संवाद भइरहेको पुष्टि गरेका छन्। एक अन्तर्वार्तामा उनले भने, “केपी ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य असम्भव छैन।” उनले ओलीसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै कहिले फोनमार्फत त कहिले प्रत्यक्ष भेटमा छलफल भइरहेको बताए।

स्रोतका अनुसार छलफलका क्रममा अध्यक्ष ओलीले प्रचण्डसमक्ष झापा, दाङलगायत केही निर्वाचन क्षेत्रमा एमालेलाई सहयोग गर्ने प्रस्ताव राखेका थिए। जवाफमा प्रचण्डले गठबन्धन केही सीमित क्षेत्रमा मात्र सीमित हुनु नहुने धारणा राख्दै आवश्यकता र सम्भावनाका आधारमा देशव्यापी सहकार्यको ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेका थिए। प्रचण्डको प्रस्तावपछि ओलीले त्यस विकल्पप्रति आफू खुला रहेको प्रतिक्रिया दिएको स्रोतको दाबी छ।

यस्तै, प्रचण्डले आइतबार नै कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता भएको जानकारी दिएका छन्। उनले भने, “हिजो शेरबहादुर देउवाजीसँग भेट भयो, आज गगन थापासँग पनि कुराकानी भइरहेको छ। केपी ओलीसँग कुरा गर्दैमा केही बिग्रिन्छ भन्ने होइन। सबैसँग संवाद भइरहेको छ र हुँदै जान्छ।”

शीर्ष नेताहरूबीच संवाद तीव्र बन्दै गएपछि आगामी निर्वाचनमा नयाँ समीकरण र गठबन्धनको सम्भावना बढेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया