काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी तथा नेपालका लागि जापानी राजदूतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी तथा राष्ट्रपति कार्यालयका पदाधिकारी सहभागी छन्। राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति पौडेल आजै जापान सरकारद्वारा आयोजित नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवसम्बन्धी विशेष स्वागत समारोहमा सहभागी हुनेछन्।
कार्यतालिकाअनुसार माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन्। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने कार्यक्रम रहेको छ। साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेट तय भएको छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।
नेपाल–जापान सम्बन्धको ऐतिहासिक पृष्ठभूमि अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको मानिन्छ। सन् १८९९ मा जापानी बौद्ध भिक्षु रेभ एकाइ कावागुची पवित्र बौद्ध धर्मग्रन्थको खोजीमा नेपाल आएका थिए। उनले आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानमा नेपालको परिचय गराउनुका साथै लुम्बिनीको महत्व उजागर गरेको इतिहासकारहरू बताउँछन्।
नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्ना दूतावास स्थापना गरेका थिए। जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावास पनि रहेको छ।
राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएपछि नेपाली समाज जापानी संस्कृति र प्रविधिसँग नजिकिएको उल्लेख पाइन्छ। उच्चस्तरीय भ्रमण आदानप्रदानले नेपाल–जापान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ।
हालसम्म भएका उल्लेखनीय भ्रमणहरूमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सन् २०१९ अक्टोबरमा जापान भ्रमण, जापानका विदेशमन्त्री तारो कोनोको सन् २०१९ जनवरीमा नेपाल भ्रमण, तथा जापानकी विदेशमन्त्री सुश्री कामिकावा योकोको २०२४ मे ५ मा भएको नेपाल भ्रमण प्रमुख छन्।
जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ। जापानले द्विपक्षीय अनुदान, सहुलियतपूर्ण ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोगमार्फत नेपाललाई सहयोग प्रदान गर्दै आएको छ।
विद्युत् उत्पादन, सडक, पुल, खानेपानी, दूरसञ्चारलगायत क्षेत्रको पूर्वाधार विकासमा जापानको योगदान उल्लेखनीय रहेको छ। सिन्धुली सडक, कुलेखानी (१ र २) जलविद्युत् आयोजना, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजना जापानी सहयोगमा सम्पन्न वा सहयोग प्राप्त प्रमुख आयोजनाहरू हुन्।
सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत हाल नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना तथा चौबाटो सुधार परियोजना सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया