काठमाडौँ। रसुवा जिल्लाको टिमुरे–रसुवागढी खण्डमा सुधार कार्य भइरहेका बेला आएको सुक्खा पहिरोका कारण सो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार साँझ पहिरो जाँदा चिनियाँ सामान आयात गर्न केरुङतर्फ गइरहेका कन्टेनर घट्टेखोलामा रोकिएका छन्। साथै, केरुङ जाँदै गरेका नेपाली नागरिकहरू सडक अवरुद्ध भएपछि नेपाल–चीन मितेरी पुल पारेर चिनियाँ भूभागमै रोकिएका छन्।
राजमार्ग पुनः सञ्चालनका लागि स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य जारी रहेको प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए। उनका अनुसार पहिरो गएको स्थान सदरमुकाम धुञ्चेबाट करिब २९ किलोमिटर उत्तरतर्फ पर्छ।
‘पहिरो ठूलो भएकाले जोखिमको अवस्था विश्लेषण गरेपछि मात्र पैदल यात्रुलाई आवत–जावत गर्न दिइनेछ,’ प्रहरी निरीक्षक कुँवरले बताए।
प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया