पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा कुहिरो र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०८२, आईतवार ०७:३३

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत अन्य हिमाली भागमा आंशिक बादल रहने महाशाखाले जनाएको छ। अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राति तराई भागका केही स्थानमा हुस्सु लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने अन्य भागमा मौसम सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले तराई क्षेत्रमा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply