काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना वा निर्वाचनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ढिलाइ नगरी अविलम्ब फैसला गर्नुपर्ने बताएका छन्।
एमाले ओखलढुङ्गा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ गते ‘जानीजानी उत्पात मच्चाएर’ देशलाई संवैधानिक संकटतर्फ धकेलिएको आरोप लगाए। उनले उक्त घटनाक्रमले राज्यसंयन्त्र र राजनीतिक दलहरूलाई कमजोर बनाइएको दाबी गरे।
ओलीका अनुसार सोही प्रक्रियाबाट असंवैधानिक ढंगले सरकार गठन गरी निर्वाचनको मिति तोकिएको हो। उनले राजनीतिक दलहरू तथा विघटित प्रतिनिधिसभाका अधिकांश सांसदहरूले असंवैधानिक गतिविधिविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको स्मरण गराए।
“यत्रो गम्भीर प्रश्न उठेका बेला, देश यस्तो संवैधानिक संकटमा फसेका बेला अदालत चुप लागेर बस्न मिल्दैन,” ओलीले भने।
उनले अदालतले निर्वाचन गर्ने वा संसद् पुनर्स्थापना गर्ने भन्ने विषयमा स्पष्ट र तत्काल निर्णय गर्नुपर्नेमा जोड दिए। संविधान मिचिएको हो कि होइन भन्ने विषयमा सर्वोच्च अदालतले प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया