आज स्वस्थानी व्रत समापन, भक्तजनले विधिपूर्वक पूजा गर्दै जाग्राम बस्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०८२, आईतवार ०७:३२

काठमाडौ। माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा सम्पन्न गरी रात्रिकालीन जाग्रामसहित अन्त्य गर्न लागिएको हो।

पौष शुक्ल पूर्णिमादेखि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनले आज व्रतको समापन गर्दै स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा आधारित स्वस्थानी कथा वाचन–श्रवण पनि अन्त्य गर्दैछन्। उक्त कथामा कुमार र अगस्त्यबीचको संवाद वर्णित छ।

विधिपूर्वक व्रत गरेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न प्रकारका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई भगवतीलाई अर्घ्य दिने परम्परा छ। चढाइएका प्रसादमध्ये आठ–आठ भाग पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई दिने र कसै नभएमा नजिकको पवित्र नदीमा प्रवाह गर्ने विधि रहेको छ।

व्रत समापनका अवसरमा सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा पनि छ। यसो गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त हुने भएकाले स्वस्थान अर्थात् आत्मासँगको सम्पर्कको अभ्यासलाई स्वस्थानी व्रतसँग जोडेर हेर्ने विश्वास पनि रहेको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय यसका लागि विशेष शुभ मानिन्छ।

व्रतकथामा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ। चार हातमध्ये नीलकमल, खड्ग, ढाल र वरदमुद्रा धारण गरेकी देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याध निको हुने र इच्छित जीवनसाथी प्राप्त हुने विश्वास गरिन्छ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथा स्वस्थानीमा वर्णित छ। साथै, नाग–नागिनीको पुनर्मिलन तथा गोमा ब्राह्मणीले व्रतको प्रभावबाट पुत्र वियोगबाट मुक्ति पाएको कथा पनि समेटिएको छ। गोमाका छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रका राजा बनेको उल्लेख रहेको इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नपछि पूजा गरी व्रत समापन गरिनेछ। रात्रिमा जाग्राम बसेपछि बिहीबार बिहान फूलपाती नदीमा सामग्री सेलाएसँगै यस वर्षको स्वस्थानी व्रत औपचारिक रूपमा सम्पन्न हुनेछ।

यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदैछ। यहाँ १६२ महिला र १५ पुरुषले एक महिना लामो कठोर व्रत गरेका छन्। माघ शुक्ल पूर्णिमालाई नेवार समुदायले ‘सि पुन्हि’ का रूपमा पनि मनाउने परम्परा छ।

प्रतिक्रिया

Leave a Reply