राति हिँडडुल गर्नेलाई लक्षित गर्दै लुटपाट गर्ने गिरोहका १० जना काठमाडौँबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०८२, शुक्रबार ०७:१७

काठमाडौँ ।  रातको समयमा हिँडडुल गर्ने व्यक्तिलाई लक्षित गरी लुटपाट गर्दै आएको एक गिरोहका १० जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलनमार्फत काठमाडौँका विभिन्न क्षेत्रमा रातको समयमा लुटपाट तथा आतङ्क मच्चाउँदै आएको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार बुधबारदेखि विशेष सर्च अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरिएको हो। उनका अनुसार जेनजी आन्दोलनपछि उक्त गिरोहले राति १२ बजेदेखि बिहान ४ बजेसम्म हिँडडुल गर्ने व्यक्तिहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको पाइएको छ।

लुटपाट गिरोहको नाइके विनय तामाङ रहेको एसएसपी थापाले जानकारी दिए। ‘विनय तामाङ जेनजी आन्दोलनअघि पनि बुढानीलकण्ठ क्षेत्रमा चोरीको आरोपमा पक्राउ परेर महाराजगञ्ज प्रहरीको हिरासतमा रहेका थिए,’ थापाले भने, ‘उनी भदौ २४ गते हिरासतबाट फरार भएका थिए।’

हिरासतबाट फरार भएपछि तामाङले समूह बनाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह गठन गरी सक्रिय भएको प्रहरीको भनाइ छ। बुधबार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरिएको सर्च अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउका क्रममा दोहोरो झडप हुँदा प्रहरी र गिरोहका नाइके विनय तामाङ घाइते भएका छन्। अनुसन्धानका क्रममा उक्त गिरोहले स्वयम्भू क्षेत्रमा ७ वटा, महाराजगञ्ज, बुढानीलकण्ठ, बौद्ध र गौशाला क्षेत्रमा ३/३ वटा तथा ठिमी क्षेत्रमा १३ वटा लुटपाट गरेको खुलेको छ। हालसम्म उनीहरूविरुद्ध २७ वटा जाहेरी दर्ता भइसकेका छन्।

पक्राउ पर्नेमा गिरोहका नाइके विनय तामाङसहित आयन माझी, मनिस रसाइली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्। उनीहरूबाट प्रहरीले तीनवटा मोटरसाइकल, एउटा ट्याक्सी, सुनका गरगहना तथा नगद रकम बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply