निर्वाचन निष्पक्ष हुन नसकेको आरोप, उच्च मनोबलका साथ नेतृत्व गर्ने ओलीको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०८२, शुक्रबार ०७:१४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा हुन नसकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्ने क्रममा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझाव लिन आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।

प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्ष ओलीले भदौमा भएको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा गम्भीर क्षति पुर्‍याएको उल्लेख गर्दै त्यसको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा मजबुत बनाउने तथा सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पार्टीले हाल भइरहेका राज्य संयन्त्रका गतिविधि र कामकारबाहीलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सरकारले हालसम्म पनि निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाए।

शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा आत्मसमर्पणबाट सम्भव हुँदैन। त्यसका लागि आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिनेछ।” अध्यक्ष ओलीले कुनै पनि प्रकारको आत्मसमर्पण स्वीकार्य नहुनेमा जोड दिएका छन्।

अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राख्दै मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहना पूरा गर्ने उद्देश्यका साथ घोषणापत्रको तयारी भइरहेको जानकारी दिए।

विज्ञप्तिमा एमालेले व्यावहारिक, कार्यान्वयनयोग्य र पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सक्ने कार्यक्रमहरू समेटेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply