काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा पछिल्लो समय विकास निर्माण, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा देखिएको सक्रियताले व्यापक चर्चा पाएको छ। वडा अध्यक्ष राजु अधिकारीको नेतृत्वमा भएका कामले वडावासीको दैनिकी सहज बनेको भन्दै जनस्तरबाट प्रशंसा बढ्दै गएको छ।
वडा कार्यालयमार्फत सडक स्तरोन्नति, ढल व्यवस्थापन, खानेपानी, सार्वजनिक स्थानको संरक्षण तथा सरसफाइका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। लामो समयदेखि अलपत्र परेका योजनाहरूलाई निरन्तरता दिँदै समयमै सम्पन्न गरिनु राजु अधिकारीको कार्यशैलीको विशेषता बनेको स्थानीयहरू बताउँछन्।
स्थानीय बासिन्दा रामहरि अधिकारी भन्छन्,
“अघिल्लो समय योजना कागजमै सीमित हुन्थे, अहिले वडा अध्यक्ष आएपछि काम देखिन थालेको छ। बाटो, ढल, बत्ती सबैमा सुधार भएको छ।”
वडा अध्यक्ष अधिकारीले भौतिक विकाससँगै शिक्षा र खेलकुदलाई पनि प्राथमिकतामा राखेका छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थी प्रोत्साहन कार्यक्रम तथा खेल मैदान व्यवस्थापनमा वडाको सक्रिय भूमिका देखिन्छ।
स्थानीय युवती सुष्मा तामाङ भन्छिन्,
“पहिले खेलकुद गतिविधि खासै थिएन। अहिले वडा कार्यालयको पहलमा खेल प्रतियोगिता, तालिम र युवा सहभागिता बढेको छ। यसले युवालाई सकारात्मक दिशातर्फ डोर्याएको छ।”
राजु अधिकारी सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका छन्। विपद् व्यवस्थापन, विपन्न परिवार सहयोग, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई लक्षित कार्यक्रमहरू वडामा नियमित रूपमा सञ्चालन भइरहेका छन्। सामाजिक समावेशीकरण र सहकार्यको संस्कार बसाल्न उनले स्थानीय संघसंस्था र युवाहरूसँग समन्वय गर्दै आएका छन्।
स्थानीय आमा समूहकी अध्यक्ष माया गुरुङ भन्छिन्,
“वडा अध्यक्षज्यू समस्यामा फोन गर्दा बेवास्ता गर्नु हुँदैन। सानो समस्या भए पनि सुन्नुहुन्छ, समाधान खोज्नुहुन्छ। यही कारण जनताले उहाँलाई विश्वास गरेका छन्।”
वडावासीका अनुसार वडा अध्यक्ष राजु अधिकारीको सबैभन्दा ठूलो विशेषता भनेकै जनतासँगको प्रत्यक्ष संवाद र जवाफदेहिता हो। कार्यालयमै सीमित नबसी टोल–टोलमा पुगेर समस्या बुझ्ने र समाधानमा लाग्ने उनको शैलीले वडामा सकारात्मक परिवर्तन देखिएको छ।
समग्रमा, बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा देखिएको विकासको गति, सामाजिक सक्रियता र जनमैत्री नेतृत्वले वडा अध्यक्ष राजु अधिकारीलाई एक कर्मठ र विश्वासिलो जनप्रतिनिधिका रूपमा स्थापित गरेको छ। यही कारण उनको काम अहिले वडाभित्र मात्र होइन, नगरस्तरमै चर्चाको विषय बनेको छ।
प्रतिक्रिया