चुनावी माहोल तातिँदै : नयाँ पुस्ताको उदयले पुराना नेताहरू दबाबमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ माघ २०८२, बिहीबार ०७:१०

काठमाडौं ।  आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी चुलिएको छ। निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेसँगै चुनावी माहोल थप तातेको छ। पुराना र नयाँ पुस्ताका नेताहरू चुनावी मैदानमा उत्रिसकेका छन् भने मतदाताको ध्यान नयाँ राजनीतिक विकल्पतर्फ मोडिन थालेको देखिन्छ।

जेन्जी आन्दोलनपछि उदाएका नयाँ पुस्ताका नेताहरूले जनसमर्थन बढाउँदै लगेपछि परम्परागत रूपमा बलिया मानिएका पुराना नेताहरू जोखिममा परेको राजनीतिक विश्लेषण हुन थालेको छ। मतदाताको भरोसा क्रमशः नयाँ अनुहारतर्फ सर्दै जाँदा चुनावी परिणाम अनपेक्षित हुन सक्ने संकेत देखिएको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आठौँ पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै झापा–५ बाट चुनाव लड्ने तयारीमा छन्। तर जेनजी विद्रोहपछि चर्चामा आएका काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले उनलाई चुनौती दिएपछि ओलीको जित सहज देखिँदैन भन्ने चर्चा छ।

यस्तै, नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट चुनावी मैदानमा उत्रिएका छन्। तर यस क्षेत्रमा पनि मतदाताको रोजाइ कमजोर हुँदै गएको र प्रतिस्पर्धा कठिन बनेको बताइन्छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस पटक रुकुम पूर्वबाट चुनाव लड्दै छन्। सशस्त्र संघर्षकालमा माओवादीको बलियो आधार मानिएको रुकुमबाट जित सुनिश्चित गर्ने अपेक्षासहित मैदानमा उत्रिए पनि नयाँ पुस्ताका मतदाताले खासै रुचि नदेखाएको विश्लेषण भइरहेको छ। चुनावी माहोल हेर्दा उनको जित पनि सुनिश्चित देखिँदैन।

त्यसैगरी नेकपा एमालेका नेता ईश्वर पोखरेल पुनः काठमाडौँ–५ बाट चुनावी प्रतिस्पर्धामा छन्। यसअघि नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका पोखरेल फेरि उनैसँग प्रतिस्पर्धामा उत्रिएका हुन्। चुनावी मैदानको अवस्था हेर्दा पोखरेलको जितको सम्भावना कमजोर देखिएको छ।

यसैबीच, यसअघि तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भएका नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा यस पटक सर्लाही–४ बाट चुनाव लड्दै छन्। भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भइरहेका थापाको जित पनि सुनिश्चित देखिँदैन। उनी कांग्रेसका पुराना नेता तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेका अमरेश कुमार सिंहसँग प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा सिंहको बलियो पकड रहेकाले थापाको सम्भावना कमजोर रहेको चुनावी चर्चामा उल्लेख छ।

समग्रमा हेर्दा, आगामी निर्वाचनमा नयाँ पुस्ताको उदयले पुराना राजनीतिक अनुहारहरूलाई कडा चुनौती दिएको छ। यसले यसपटकको चुनावलाई अझ रोचक र अनिश्चित बनाएको छ।

प्रतिक्रिया

Leave a Reply